Today's Date:
Wednesday, June 28, 2017 ,   बुधबार, असाढ १४ , २०७४
  
एनआरएनए अध्यक्ष र प्राधिकरणका सीइओवीच छलफल
2017-04-21

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले राष्ट्रिय पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. गोविन्द पोखरेलसंग भेट गरी लाप्राक नमुनावस्ती निर्माणमा भएको प्रगतिबारे छलफल गर्नुभएको छ ।

चार दिनसम्म लाप्राकमा बसेर निर्माण कार्यको स्थलगत अनुगमन गरी काठमाण्डौ फर्किनुभएका अध्यक्ष घलेले अहिलेसम्म १२० वटा घरको डीपीसी भइसकेको र थप ५० वटा घरको जग खन्ने काम सम्पन्न भएको जानकारी दिनुभयो ।

भौगोलिक बिकटता तथा मौसमको प्रतिकूलताका बाबजुद निर्माण कार्य तिब्र गतिमा अगाडी बढिरहेको जानकारी दिंदै अध्यक्ष घलेले जेठ महिना भित्र नै सवै ५७३ वटै घरहरु डीपीसी सम्म निर्माण गरीसक्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

बर्षायाम सुरु हुनासाथै निर्माण सामग्री ढुवानीमा कठिनाई हुने भएकाले निर्माण सामाग्री अहिले नै ढुवानी गरी भण्डारण गर्न लागिएको जानकारी दिंदै अध्यक्ष घलेले निर्माण कार्यलाई गति दिन थप निर्माण उपकरणहरु साइटमा पठाउन लागिएको अबगत गराउनुभयो ।

अहिले गैरआवासीय नेपाली संघका ७० जना र नेपाली सेनाका १२० जना दक्ष जनशक्तिले वस्ती निर्माणको काम गरिरहेका जानकारी गराउँदै उहाँले जनशक्ति बृद्धि गरी बर्षायाममा पनि निर्माण कार्यलाई निरन्तरता दिने योजना रहेको बताउनुभयो ।

अध्यक्ष घलेले गैरआवासीय नेपाली संघले नमूना बस्तीको नक्शा प्राधिकरण तथा केन्द्रीय आयोजना कार्यान्वयन ईकाइमा ती निकायहरुको सुझावलाई समेटेर पटकपटक पठाउँदा पनि स्वीकृती प्राप्त हुन नसकेको र प्रशासनिक झन्झट कहिले नसकिने चक्रजस्तै भएको गुनासो गर्नुभयो ।

फिल्डमा निर्माण कार्य तिब्र भएको र आगामी हिउँदअघि नै वस्ती हस्तान्तरण गर्ने लक्ष्य पुरा गर्न नक्सा पास लगायतका प्रशासनिक कार्य छिटो सक्नुपर्ने उहाँको भनाई थियो ।

प्राधिकरणका कार्यकारी अधिकृत डा. पोखरेलले संघका अध्यक्षको यस कार्य प्रतिको अठोट तथा लगनशिलता प्रशंसनिय भएको र प्राधिकरणले यस कार्यलाई छिटै सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै लाभग्राहिहरु तथा स्थानिय निकायहरुसंग अझ प्रभावकारी ढंङ्गबाट समन्वय र सञ्चारको बिकास गर्न समेत सुझाव दिनुभयो ।

 

संघका अध्यक्ष प्रधान सेनापतिबीच भेटबार्ता

यसै गरी संघका अध्यक्षले नेपाली सेनाका प्रधान सेनापति महारथी राजेन्द्रवहादुर क्षेत्रीसंग भेट गरी नेपाली सेनासंगको सहकार्यमा निर्माण गर्न लागिएको यस लाप्राक नमुना वस्ती परियोजना आफैंमा एक नमूना भएको औंलाउँदै नेपाली सेनाका अधिकृत तथा जवानहरुले नमूना बस्ती निर्माण कार्यमा पुराएको सहयोग र योगदानको प्रशंसा गर्दै धन्यवाद दिनुभयो ।

लाप्राक जस्तो भौगोलिक बिकट्ता तथा प्रतिकूल मौसम भएको स्थानमा हालसम्म निर्माण कार्यमा संघले जति सफलता हाासिल गरेको छ, त्यो नेपाली सेनाको सहकार्य र सहयोग बिना सम्भव नभएको अवगत गराउनु भयो ।

अध्यक्ष घलेले निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न गराउन थप जनशक्तिको अवश्यकता रहेको औंलाउँदै सम्भव भए थप जनशक्ति परिचालन गरिदिन प्रधानसेनापति समक्ष अनुरोध गर्नु भयो । उहाँले आगामी बर्षायाममा समेत निर्माण कार्यलाई तिब्रता दिन आवश्यक निर्माण समाग्रीको पर्याप्त भण्डारण गर्ने तथा थप निर्माण उपकरणहरु खरिद तथा परिचालन गर्ने संघको योजना समेत रहेको जानकारी गराउनु भयो ।

सो अवसरमा प्रधान सेनापतिले संघले एकदमै चुनौतीपूर्ण स्थानमा परियोनजा छनोट गरेको धारणा राख्दै कार्यान्वयनमा जति चुनौती भयो सफलता उति नै रोमाञ्चक, सन्तोषप्रदाय र उपलब्धीमूलक हुने बताउनु भयो । उहाँले यस परियोजनाको सफल कार्यान्वयनले अन्य संघ संस्थाहरुलाई समेत प्रेरणा हुने र आगामी दिनमा यस नमूना परियोजन जस्तै अन्य परियोजनहरु समेत थपिन सक्ने औंलाउनुभयो ।

प्रधान सेनापतिले आगामी बैशाखमा हुन गइरहेको स्थानिय निर्वाचन, नेपाली सेनालाई नेपाल सरकारले पूर्वाधारहरुको निर्माणमा दिएको थप जिम्मेवारी तथा हाल भइरहेको पूनर्निर्माणमा सेनाको परिचालन आदिका कारण नेपाली सेनाको जनशक्तिमा एकदमै चाप परेको वताउँदै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौं ।

मिति: ८ बैशाख, २०७४ ।

Invest in Nepal